ट्रेन्डिङ

सिरहाका स्वास्थ्य संस्थामा मुख्यमन्त्रीको छड्के, एनेस्थेसियाका चिकित्सकबिनै अस्पतालमा शल्यक्रिया

१३ अस्पताल बन्द गर्न निर्देशन

धनुषा । मधेस सरकारका मुख्यमन्त्री सतिस सिंहले सिरहाको मिर्चैयास्थित निजी स्वास्थ्य संस्थामा छड्के अनुगमन गरेका छन् ।

शनिबार मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले त्यहाँका स्वास्थ्य संस्थाको अनुगमन गरेका हुन् । सो क्रममा अस्पतालहरुका सञ्चालकसहित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सम्पर्कविहिन भएका थिए ।

अनुगमन टोली आएको सूचना पाएलगत्तै स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालकसँगै व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारी फरार भएका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार अनाधिकृत रुपले तवरले सञ्चालित ती स्वास्थ्य संस्थामाथि कारबाही हुने डरले सम्पर्कविहीन बनेका हुन् ।

टोलीले शनिबार मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका हुन्। तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालित १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

उनले समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक बन्द गर्न निर्देशन दिएका हुन् ।

मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्ने गरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । त्यहाँ भेटिएका र स्वास्थ्यकर्मी भनेर दाबी गरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन भइसकेकाले नियन्त्रणमा लिइएका दुईजनालाई शनिबार नै छाडिने जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय आठवटा अस्पताल बन्द गराइएका छन् ।

नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ । बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै