स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना पून: सुचारु गर्ने निर्णय

वीरगन्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचनको मतगणना सुचारु गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको दलहरूको बैठकले यस्तो निर्णय भएको हो ।

बैठकमा ठाकुरराम क्याम्पसबाट स्ववियु निर्वाचनमा सहभागी भएका विद्यार्थी संगठनका प्रमुखबिच छलफल भएको थियो । छलफलबाट मतगणना पून सुचारु गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले बताए ।

उनका अनुसार स्ववियु निर्वाचनमा १४ वटा संगठनले भाग लिएका थिए । ती सबै संगठन निकटका दलहरू रोकिएको मतगणना गर्न सहमत देखिएको उनको भनाइ छ ।

हरेक दलका प्रमुखहरुले आ-आफ्नो संगठनमा छलफल गरेर मंगलबारदेखि मतगणना सुचारु गर्ने उनले बताए ।

यसैगरी मतगणना गर्न स्वतन्त्र मतगणना पर्यवेक्षक टोली गठन गर्ने सहमति समेत भएको छ । निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले निर्वाचन समितिको निष्पक्षता माथि प्रश्न उठाएकाले गणना गर्न पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र मानव अधिकार क्षेत्र समेतको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने सहमति भएको हो ।

मतगणनाको क्रममा भर्ना प्रक्रियामा अनियमितताको विषय उठेकाले सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको संयोजकत्वमा क्याम्पसको एक जना प्रतिनिधि र प्रहरीबाट एक जना सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय भएको छ ।

अनुसन्धानका क्रममा कसैको दोष पाइएमा कारबाहीको दायरमा ल्याउने समेत सहमति जुटेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै