वीरगन्ज । एसईई परीक्षामा पर्सामा एक केन्द्रमा अमर्यादित कार्य गरेको भन्दै पाँचजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिकाको सुर्जीदेबी माध्यममिक विद्यालयलमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित पाँच जना पक्राउ परेको जनाइएको छ ।
परीक्षा समन्वय समितिको टोलीले अनुगमनका क्रममा पाँचैजनालाई पक्राउ गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार यो सेन्टरमा परीक्षाको मर्यादाविरीत काम भइरहेको थियो, त्यसकारण हामीले सबैलाई नियन्त्रणमा लिएर कारबाही गरेका हौ ।
प्रहरी नियन्त्रणमा रहेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यी सेन्टरबाट परीक्षाको मर्यादाविपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टीम नै परिवर्तन गर्ने तयारी गरेको छ ।
सिडिओ अर्यालले भने, ‘हामी अनुगमन गर्न जाँदा त्यहाँको गतिविधि ठीक थिएन, त्यहीकारण तत्कालै केन्द्राध्यक्षसहित पाँचजनालाई नियन्त्रणमा लियौं । अब चार बजे बैठक डाकेर सबै टीम नै परिवर्तन गर्ने तयारी गरेका छौं ।’
पर्सामा एसईई परीक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले लगातार बैठक, छलफल तथा अनुगमनको कार्यलाई तिब्रता दिएको छ ।
परीक्षा सुरु हुनुभन्दा अगावै सिडिओले सबै सरोकारवालालाई बैठक राखेर परीक्षालाई मर्यादित बनाउनमा सहयोग गर्न आग्रह गरेका थिए ।
उक्त बैठकमा उनले उत्कृष्ट काम गर्ने केन्द्रलाई १० हजारको नगद पुरस्कार दिने घोषणा समेत गरेका थिए । आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा थियो ।