ट्रेन्डिङ

पर्सा जिल्लाबाट यसवर्ष ११ हजार ४१३ जनाले एसईई परीक्षा दिने

तोकिए २९ केन्द्र

वीरगन्ज । ठीक एक हप्तापछि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्साबाट यो वर्ष पोहोर साल भन्दा बढी परीक्षार्थीले भाग लिँदैछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यो वर्ष पोहोर सालभन्दा एक हजार ३४५ जना बढी विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

कार्यालयका प्रमुख हरि राउतका अनुसार यस वर्ष हुने एसइई परीक्षामा जिल्लाभरबाट ११ हजार ४१३ जना परीक्षार्थीले भाग लिइरहेका छन् भने यो पोहोर साल १० हजार ६८ जना परीक्षार्थीले परीक्षा दिएको विवरण छ ।

जसअनुसार नियमिततर्फ ९ हजार ७४७, प्राविधिकधारतर्फ ४३६ र ग्रेडवृद्धितर्फ एक हजार २३० जना परिक्षार्थी सहभागी हुने उनले बताए ।

परिक्षार्थीहरुमध्ये साधारणतर्फ ७ वटा विषय र प्राविधिकधारतर्फ ९ वटा विषयको विद्यार्थीले परीक्षा दिने उनको भनाइ छ ।

परीक्षा दिने परीक्षार्थीहरुका लागि जिल्लाभर २९ वटा केन्द्र तोकिएको शिक्षा बिकास तथा समन्वय एकाई पर्साले जनाएको छ । उनले भने, ‘विद्यार्थीहरुको सहजताका लागि जिल्लाभर २९ वटा केन्द्र तोकिएको छ । जसमध्ये वीरगन्ज महानगरभित्र १७ वटा छन् भने महानगर बाहिर १२ वटा केन्द्रबाट विद्यार्थीले परीक्षा दिन सक्नेछन् ।’

शिक्षामा किशोरीहरुको पहुँच बढ्नु, निशुल्क शिक्षा, दिवा खाजाको व्यवस्था, सचेतना लगायतका कारण यहाँ एसईई परीक्षा दिने परीक्षार्थीहरुको सङख्या वर्षेनी बढ्दै गएको अनुमान कार्यालय प्रमुख राउतको छ ।

यसवर्षको एसइई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन रहनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै