ट्रेन्डिङ

स्ववियु निर्वाचन : देशभरका अधिकांस क्याम्पसमा उम्मेदवारी दर्ता, ७ क्याम्पसमा मनोनयन दर्ता भएन

काठमाडौं । यहि चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको जनाएको छ ।

अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार मंगलबार विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता चलेको थियो ।

काठमाडौं उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक मनोनयन दर्ता गरेको बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचार–प्रसारका लागि  फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै