
वीरगन्ज । यहि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट सभापति पदमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि एक सभापति पदका लागि विभिन्न राजनितिक दल, सम्बद्ध विद्यार्थी संघ संगठन र समूहतर्फबाट गरि १४ जनाको उम्मेदवारी परेको हो ।
स्ववियु निर्वाचनका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता समय निर्धारण गरिएको थियो ।
जसअनुसार प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष तथा ८ जना सदस्य तथा समानुपातिकतर्फ उपसभापति, सहसचिव र ८ सदस्य गरी २१ पदमा उम्मेदवारी परेको हो ।
सिंहका अनुसार सभापति पदका लागि नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दिएका छन् ।
यसैगरी जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता,दिलिप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिपराज महतो,नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव, स्वतन्त्र युवा समुहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समुह धर्मेन्द्र साह कानु, राष्टिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादवले उम्मेदवारी दिए ।
यस्तै सुधिर पटेल समुहबाट कमलेश यादव र राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दपेश कुमार साह समेतले सभापति पदमा उम्मेदवारी दर्ज गराएका बताइएको छ ।
प्रत्यक्ष र समानुपातिक गरी २१ पदका लागि कूल २४७ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।
दर्ता भएका उम्मेदवारीमथि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोध हुनेछ । त्यसपश्चात बुधबार साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ ।
त्यस्तै बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने मिल्ने तथा दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशीत गर्ने समय बिहीबार दिउँसो २ बजेका लागि तोकिएको छ ।
स्ववियु निर्वाचनमा ठाकुरराम क्याम्पसबाट १० हजार ५ सय बढी मतदाता छन् । ठाकुररामसहित देशभरका त्रिभुवन विश्वविद्यालयका आंगीक र सम्बन्धन प्राप्त क्याम्पसमा १६ बर्षपछि स्ववियु निर्वाचन हुदैँछ ।