जनकपुर । मधेस प्रहरी पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा आक्रमक देखिएको छ ।
केही महिनादेखि मधेसका हरेक जिल्लामा प्रत्येक दिन फरार प्रतिवादी समाउने अभियान चलिरहेको छ ।
मधेसको जनकपुर र बारामा आजै मात्रै ११ जना अहिलेसम्म फरार प्रतिवादी पक्राउ परिसकेका छन् ।
अदालतबाट भएको फैसलापश्चात लुकिछिपी बस्दै आएका प्रतिवादीहरुलाई प्रहरीले समाउने अभियान चलाएको मधेस प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।
यही अभियान अन्तर्गत मंगलबार जनकपुरबाट ५ जना र बाराबाट ६ जना पक्राउ परेका छन् ।
दुइवटै जिल्लामा अदालतले जरिवाना गरेको एक हजार भन्दा माथिको रकम नतिरी लुकिछिपी बस्दै आएका फरार प्रतिवादीहरुलाई पक्राउ परेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामान्य जरिवाना रकम र केही कैद भएका प्रतिवादीहरु पक्राउ परेको मधेस प्रदेश प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबै फरार प्रतिवादीहरुलाई आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला अदालतमा बुझाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।