वीरगन्ज । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एकजना पीडित आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि आफूले प्रहरीबाट न्याय नपाएको भन्दै आत्मदाहको प्रयास गरेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि सोमबार मध्यान्ह विषादी सेवन तथा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार पीडितले आफू प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेख्दै आत्मदाह गर्न लागेका थिए । आत्मदाह गर्न लाग्दा तत्कालै उद्दार गरेर पीडितलाई उपचारको लागि सिडिओकै गाडीमा अस्पताल लगिएको छ ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । आत्मदाह गर्ने बारा पचरौता नगरपािलका वडा नम्बर–४ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्ने बृजकिशोर प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।
आत्मदाह गर्ने पीडित एक शिक्षकसमेत रहेको पर्सा प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
घटनास्थलबाट सिडिओलाई प्राप्त पत्रमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरुको नाममा पास गरेको थिए, तर जग्गा आफूले पैसा तिर्न खोन्जा पीडिकले फिर्ता गर्न आनाकानी गरिरहेको छ । यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यहीकारण यो बाटो रोजेको हुँ ।’