रौतहट । रौतहट प्रहरीले अदालतबाट भएको जरिवानको रकम नतिरेका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट जरिवाना भएको रकम १२ हजार १५० रुपैयाँ नतिर्दा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न मितिमा अदालतबाट भएको फैसला पश्चात जरिवाना रकम नतिरी फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
प्रहरीले कुटपिट मुद्दाका ६ जना र घरेलु हिंसा मुद्दाका ६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
फरार १२ जना प्रतिवादीहरुले अदालतबाट भएको जरिवाना मात्रै नतिर्दा पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अदालतबाट २५ रुपैयाँदेखि लिएर बढीमा घरेलु हिंसाका प्रतिवादीहरुलाई ३ हजारको जरिवाना गरिएको फैसला छ ।
प्रहरी नियन्त्रणमा रहेका सबै फरार प्रतिवादीहरुलाई थप कारबाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखेको छ ।