ट्रेन्डिङ

बाराको महागढीमाइमा धिमा गति साइकल प्रतियोगिता सम्पन्न, करिणा चौधरी प्रथम

बारा । बाराको महागढीमाइमा पालिकास्तरीय अन्तर माध्यमिक छात्रा धिमा गति साइकल प्रतियोगिता आयोजना गरिएको छ ।

सबै महिला तथा बालिका लागि : अधिकार, सममानता र सशक्तीकरण ११५ औं अन्तराष्ट्रिय महिला दिवस ८ मार्च २०२५ को अवसरमा छात्रा धिमा गति साइकल प्रतियोगिता आयोजना गरिएको हो ।
छात्रा धिमा गति साइकल प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनका छात्रा करिणा चौधरी प्रथम भएकी छन् ।

यसैगरी गढीमाइ महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका छात्रा अनुकुमारी जैसवाल द्वितीय र तेस्रो स्थानमा पनि यही विद्यालयकी छात्रा शर्मिला पटेल भएकी छन् ।

पालिकाका ७ वटा विद्यालयबाट छात्राहरु भाग लिएको आयोजक संस्थाले जनाएको छ । आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका १४ जना छात्राहरु प्रतियोगितामा भाग लिएको जनाइएको छ ।

प्रथम छात्रालाई साढे ७ हजारको साइकल पुरस्कार दिइएको छ भने द्वितीयलाई ५ हजार रुपैयाँको ब्यागसहितको स्टेशनरी र तृतीय हुने छात्रालाई ३ हजार रुपैयाँ बराबरको स्टेशनरी, शील र प्रमाणपत्र पुरस्कार दिइएको छ ।

प्रतियोगतामा सहभागी अन्य छात्राहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

अत्तिरिक्त क्रियाकलापमार्फत छात्राहरुको मनोबल बढाउने तथा छोरी पढाउने अभिभावकलाई उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक जनशक्ति युवा कल्बले जनाएको छ ।

इस्लामिक रिलिफ नेपालको प्राविधिक, इस्लामिक रिलिफ क्यानडाको आर्थिक सहयोग तथा जन जागरण युवा क्लब बाराको आयोजनामा महागढीमाइ नगरपालिकाको महेन्द्र प्राविधिक नमुना मावि बरियापुरमा प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रममा महागढीमाइ नगरपालिकाका वडाअध्यक्षहरु मनोजकुमार गुप्ता, विश्वनाथ प्रसाद कुशवाहा, वोहाब अन्सारीसहित जेजेवाइसीका कोषाध्यक्ष सीयाराम यादव, साझा बाल क्लबका अध्यक्ष सोनाक्षी कुमारी लहेराको सहभागीता थियो ।

जनशक्ति युवा क्लबका विशालकुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै