वीरगन्ज । पर्साको कालिकामाइ गाउँपालिका एक सरकारी विद्यालयका करिब दुइ दर्जन विद्यार्थीहरु अचानक बेहोस भएका
विहानको प्रार्थना सकेको एक घण्टा नबित्दै कालिकामाइ गाउँपालिका वडा नम्बर–४ स्थितका श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थीहरु धमाधम बेहोस भएका हुन ।
कालिकामाइ गाउँपालिका प्रमुख वशिष्टकुमार गुप्ताका अनुसार विहान एकाएक विद्यार्थीहरु बेहोस भएका हुन ।
उनले भने, ‘स्कुलको प्रार्थना सकेको थियो, त्यसको केही बेरमा विद्यार्थीहरु बेहोस हुन थाले ।’
सुरुमा एकजना विद्यार्थी बेहोस भएको थियो, त्यसपछि धमाधम विद्यार्थीहरु बेहोस हुन थाले । उनका अनुसार करिब २० जना विद्यार्थी एकाएक बेहोस भएका हुन ।
कक्षा ६देखि १० सम्मका विद्यार्थी बेहोस भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । तर एकजना विद्यार्थीको भने अवस्था गम्भीर रहेको उनले जनाए ।
गम्भीर विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाँकी बेहोस भएका विद्यार्थीहरुको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालहरुमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ ।
‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरु बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन् ।