वीरगन्ज । पर्सा प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा फागुन १४ गते अर्थात् महाशिवरात्रिको दिन जिल्लाका फरकफरक स्थानबाट प्रहरीले गाँजासहित दुइ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिराभवानी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाबाट ७६ किलोग्राम गाँजासहित दुइजनालाइ नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।
उनका अनुसार जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले जाँच अभियान चलाएको थियो । सोही क्रममा नौकाटोलबाट जितपुरतर्फ जाँदै गरेका पैदल यात्री पटेर्वासुगौली गाउँपालिका-४ भथौरा बस्ने वर्ष १९ को अर्जुन महतोको साथबाट गाँजा फेला पारेको एसपी मिश्रले बताए ।
महतोले बोकेको दुबै हातको कालो प्लाष्टिकभित्र राखिएको २३/२३ केजीका दुई वटा पोका गरी जम्मा ४६ केजी गाँजा जस्तो पदार्थ फेला पारेको उनले जनाए ।
यसैगरी सोही दिन पटेर्वासुगौली गाउँपालिका-१ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पुरानो सडकखण्डमा प्रहरीले ३० केजी गाँजा फेला पार्यो ।
नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली खटिएको संयुक्त टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको बताइएको छ ।
भाठा मन्दिरबाट शिकारी बाँसतर्फ जाँदै गरेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी बस्ने ३० वर्षका असलम अन्सारीलाई प्रहरीले जाँच गरेको थियो । सोही क्रममा उनले टाउकोमा बोकेको बोराभित्र लुकाइ छिपाई राखिएको अवस्थामा ३ पोकामा जम्मा ३० केजी गाँजा बरामद गरेको एसपी मिश्रको भनाई छ ।
गाँजासहित पक्राउ परेका दुवैजनामाथि लागू औषध सम्बन्धी कसूरमा मु्द्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।