वीरगन्ज । इलाका प्रहरी कार्यालय श्रीपुर पर्साले वीरगन्ज महानगरपालिकाको एक होटलमा छापामारी गरेको छ ।
महानगरको बसपार्कस्थित भानु प्लाजा होटलमा श्रीपुरबाट खटिएको प्रहरी टोलीले छापामारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
भानु होटलमा गलत धन्दा भइरहेको सूचना दिएपछि श्रीपुरबाट खटिएको प्रहरी टोलीले छापामारी गरेको हो ।
तर सूचना दिए बमोजिम उक्त होटलमा गलत काम नभएको पाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतले बताए ।
उनका अनुसार केही व्यक्तिले होटलमा अश्लिल काम भइरहेको प्रहरीलाई सूचना दिएका थिए ।
‘तर छापामारी गर्दा त्यस्तो क्रियाकलाप हुने गरेको कुनै सबुतप्रमाण भेटिएन,’ उनले भने । उनले भने, ‘हामी सबै जाँच ग¥यौं, सिसिटिभि क्यामेरा जाँच गरियो । तर गलत गतिविधि भइरहेको कुनै प्रमाण फेला पार्न सकेनौं । जुनकारण होटल सञ्चालकलाई सम्झाएर हामी फिर्ता भयौं ।’
प्रहरी कार्यालय श्रीपुरलाई गलत सूचना दिएर छापामारी गर्न लगाइएको श्रीपुर प्रहरीको आंकलन छ ।
व्यक्तिगत रिसइबी साध्नका लागि गलत सूचना दिएर उक्त होटलमा छापामारी गर्न लगाइएको प्रहरी निरीक्षक बस्नेत बताउँछ ।
यस्तै गलत सूचना दिएर प्रहरीलाई भ्रमित पारेको भन्दै राजधानीमै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही चलाएको नजिर छ ।