वीरगन्ज । बाराको कलैया उपमहानगरपालिकास्थित सुधार गृहमा एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ बैँकरोडमा रहेको ‘नवजन्म सुधार केन्द्र’मा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कलैया–९ रामपुर टोल बस्ने ३४ वर्षका धिरेन्द्र भनिने प्रदीपप्रसाद मृत्यु रहेका बारा प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक एवम् निमित्त सूचना अधिकारी बलराम क्षेत्रीका अनुसार आज बिहान उनको मृत्यु भएको हो । सुधार केन्द्रबाट अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषण गरेका प्रहरीले जनाएको छ ।
सुधार केन्द्रले यातना तथा कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनका परिवारले बारा प्रहरीमा जाहेरी दिदैँ घटनाको छानबिनका लागि माग गरेका छन् ।
यसैबिच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सुधार केन्द्रका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक कलैया–३ भवानीपुरका तमन्ना अलिसहित सुधार केन्द्रका कर्मचारी तथा उपचाररत युवाहरु छन् ।
प्रहरीले सञ्चालक अलिसहित कलैया–३ बस्ने सर्फराज मन्सुर, वडा नम्बर ४ का नीरज सर्राफ, वडा नम्बर ६ का राहुल भन्ने मोहम्मद आसुँ मियाँ शेख, वडा नम्बर १ का अरुण सर्राफ र प्रकाश गुप्ता, वडा नम्बर २ प्रमेश्वर साह रहेका प्रहरी निरिक्षक क्षेत्रीले बताए ।
मृतकको अनुहार तथा शरिरका भागहरुका कुटपिटको डाम देखिएकाले सञ्चालकसहितलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
यद्यपी मृत्युको कारणबारे शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन खुल्ने बारा प्रहरीले जनायो । यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।