बारा । बाराको कलैया उपमहानगरपालिकाभित्र ‘रिंग रोड’ बनाउन थालिएको छ ।
नगरप्रमुख बिनोद साहले खौराही खोलाको किनारै किनार २६ फिट चौडा रिङ्ग रोड बनाउने गरी योजना अघि सारेका हुन् ।
उनले कलैया ३ भवानीपुरस्थित जिल्ला आयुर्वेद कार्यालयदेखि सन्सारीमाई-जिल्ला हुलाक कार्यालय-रामराजा क्याम्पस हुँदै बरेवा रोड सम्मा हाललाई रोड बिस्तार गरिने योजना रहेको बताए ।
उनका अनुसार कलैया उपमहानगरमा रिंग रोड (घेराबन्दी सडक) निर्माण गर्दा विभिन्न फाइदा छन्, जसले यातायात व्यवस्थापन, आर्थिक गतिविधि र समग्र शहरी विकासलाई सकारात्मक रूपमा प्रभावित गर्ने उनको विश्वास छ ।

उनी भन्छन्, ‘रिंग रोड बनाउन सके सहरभित्रको जाम कम हुन्छ, लामो दूरीका सवारीसाधनहरू उपमहानगरको मुख्य क्षेत्रभित्र नआइकन बाहिरी घेराबाट नै आवतजावत गर्न सक्छन् ,यसले दुर्घटना पनि कम हुन्छ ।’
लामो दूरी पार गर्ने सवारीसाधनले सिधै बाहिरी रिंग रोड प्रयोग गर्न सक्ने भएकाले समय र इन्धन दुबै बचत हुने बिश्वास समेत व्यक्त गरेका छन् ।
‘सडकका किनारामा नयाँ व्यापारिक क्षेत्रहरू, बजारहरू, र व्यावसायिक भवनहरू विकास गर्न सकिने उनको जिकिर छ।उद्योगहरू र गोदामहरू बाहिरी क्षेत्रमा सार्न सकिन्छ, जसले ट्राफिक दबाब कम गर्छ । जग्गाको मूल्य वृद्धि हुन्छ, जसले स्थानीय जनतालाई आर्थिक फाइदा पुर्याउँछ’, उनले भने ।

मेयर साहले उपमहानगरको बाहिरी क्षेत्रमा नयाँ बस्तीहरू बसाउन मद्दत गर्ने विश्वास गरे । यस्तै सहरभित्रको भीडभाड कम भएर व्यवस्थित बसोबासको अवसर बढ्छ। ट्राफिक व्यवस्थापन सुधार हुँदा धूवा–धूलो कम भएर हावा प्रदूषण कम हुने उनको भनाई थियो ।
हरित क्षेत्रहरू व्यवस्थित गरेर सुन्दर र दिगो सहर विकास गर्न सकिन्छ नगरप्रमुख साहले बताए ।
‘बाहिरी क्षेत्रबाट सिधै पर्यटन स्थलहरूमा आवतजावत गर्न सकिन्छ, जसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँछ भन्दै समग्रमा रिङ्ग रोड निर्माणले यातायात मात्र होइन, समग्र रूपमा उपमहानगरको आर्थिक, सामाजिक, र पर्यावरणीय पक्षलाई सकारात्मक रूपमा सुधार गर्छ। व्यवस्थित योजना र प्रभावकारी कार्यान्वयन गर्न सकेमा उपमहानगरको दिगो विकासमा यो महत्वपूर्ण परियोजना साबित हुनेमा म विश्वस्त छु’, नगरप्रमुख साहले भने ।
जनप्रतिनिधि नरहेका बेला प्रमुख प्रशासकिय अधिकृत तत्कालिन कार्यकारी प्रमुख नाथु साहले समेत रिङ्ग रोड बनाउने योजना सारे पनि जन दबावका कारण बनाउन नसकेको सुनाउदै मेयर साहले अहिले जनताको मागका रुपमा रहेको नाथु साहको त्यो चाहना पूरा गर्न लागिएको बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष किशुन यादव सम्योजक रहेको रिङ्ग रोड बनाउने समितिको सदस्यहरुमा वडा नम्बर १,३ र ८ को वडा अध्यक्षहरु रहेका छन ।
कलैया उपमहानगरपालिका बाताबरण शाखा प्रमुख अनिल पाण्डेले यो बाटो बनाउन खौराही खोलाको जग्गा अतिक्रमण गरेर बनाईएको घर टहरा तथा अन्य संरचनालाई आफुहरुले पूर्व सुचना दिएर हटाउन लागेको बताएका छन् ।
यता कलैया उपमहानगरपालिकाका ईन्जिनियर माधव यादवको नेतृत्वमा दुई जना अमिन सहितको टोलि दिनभर निर्माण स्थलमा तटस्थ रुपमा निरन्तर लागेका छन ।