वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको मुद्दा किनारा लागेको छ । सर्वोच्च अदालतमा पाँच वर्षदेखि थन्किएको मुद्दा किनारा लागेको हो ।
सर्वाेच्च अदालतले यसअघि निर्माण कम्पनीको पक्षमा फैसला सुनाएको थियो । उच्च अदाल जनकपुर अस्थायी इजलाश वीरगन्जले आज उक्त फैसला उल्टाएको हो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पोख्रेलको संयुक्त इजलाशले फैसला उल्ट्याउँदै शहरी विकास तथा भवन निर्माण विभागको पक्षमा फैसला गरेको हो । अदालतको यो फैसलासँगै अब अस्पतालमा ५०० शय्याको भवन बनाउने बाटो खुलेको हो ।
अदालतको यो फैसलाका कारण स्वास्थ्यकर्मी, कर्मचारीसहित सम्पूर्ण वीरगन्जबासी हर्षित भएका छन् । भवन निर्माण संघर्ष समितिका संयोजक डा. निरज सिंहले अदालतको यो फैसलाप्रति खुसी व्यक्त गरे ।
उनले देशमा न्याय अझैपनि बचेको भन्दै अदालतप्रति अझै सम्मान बढेको बताए । उनका अनुसार यो जित चिकित्सक, नर्स, कर्मचारी लगायत सम्पूर्ण वीरगन्जबासीको हो ।
आफूहरुले एक हप्तादेखि लगातार गरेको संघर्षले फल पाएको भन्दै डा. सिंहले अब अस्पतालमा भयरहित वातावरणमा बिरामीहरुको चेकजाँच समेत गर्न पाउनेमा विश्वास जनाए ।
यसैबिच अदालतको यो फैसलालक्षित गर्दै जनप्रतिनिधि, विभिन्न पार्टीका नेता, कार्यकर्ता लगायत सम्पूर्ण वीरगन्जबासीले सामाजिक सञ्जालमा हर्ष व्यक्त गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अदालतको यो निर्णयलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सर्वाेच्च अदालतमा पाँच वर्षदेखि थन्किएको भवन निर्माण सम्बन्धि मुद्दाको छिनोफानो लगाउनका लागि दबाब दिन नारायणी अस्पतालका डाक्टर,नर्स तथा कर्मचारीहरु माघ १८ गतेदेखि ‘सेतो एप्रोन’ लगाएरै सडकमा उत्रिएका थिए ।
उनीहरुले विभिन्न नारा लगाउदैँ त्रिभुवन राजपथ बन्द गर्नुका साथै वीरगन्जका मुख्यमुख्य सडकमा दबाबमूलक कार्यक्रम आयोजना गर्दै आएका थिए । उनीहरुको आन्दोलनमा स्थानीय जनप्रतिनिधि, नेता, कार्यकर्ता, अगुवा तथा सर्वसाधारण सहित सामाजिक संघ संस्थासमेतले ऐक्यवद्धता जनाएका थिए ।