ट्रेन्डिङ

यहि फागुन १७ गतेदेखि दोस्रो वीरगन्ज गोल्डकप २०८१ हुने

वीरगन्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल २०८१ यहि फागुन १७ गतेदेखि हुने भएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा राष्ट्रिय स्तरकासहित छिमेकी देश भारतबाटसमेत गरी आठ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । भेट्रान सिटि क्लव वीरगन्जको आयोजनामा हुने प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ । वीरगन्ज गोल्डकप मधेस प्रदेशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

प्रतियोगिता नकआउट चरणमा खेलाइने भेट्रान क्लव वीरगन्जका अध्यक्ष सबिन बस्नेतले बताए । उनका अनुसार प्रदेशमा फुटबल खेलको संस्कृति बिकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबबिच खेल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले प्रदान गरिने जनाइएको छ ।

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै