जनकपुर । पचास हजार रुपैयाँ पेश्की नदिँदा धनुषाको कमला नगरपालिकामा शिक्षक र प्रधानाध्यापकबिच कुटाकुट भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर–२ स्थितको जनहित मावि माचि झिठकैयामा शिक्षकले मागेको पेश्की रकम नदिँदा हेडमास्टर र शिक्षकबिच घम्साघम्सी भएको हो ।
जनहित माविका प्रधानाध्यापक जगरनाथ यादव र निमावि राहतका शिक्षक रोहित यादवबिच आइतबार विहान स्कुलमै घम्साघम्सी भएको हो ।
शिक्षक यादवले आफ्नो आमा बितेको भन्दै प्रधानाध्यापक जगरनाथ यादवसंग क्रिया खर्चका लागि ५० हजार रुपैयाँ पेश्की माग गरेका थिए । तर यही पेश्की रकम नदिँदा दुबै जनामा विवाद भएको जनाइएको छ ।
पटकपटक पेश्की रकम माग्दा पनि दिन आलटाल गरेपछि विवाद भएको शिक्षक यादवको भनाइ छ । शिक्षक यादव भन्छन्, ‘मेरो आमा बित्नु भएको छ, सोही कामका लागि क्रिया खर्च मागेको हुँ । तर त्यो पैसा दिन हेडसरले आलटाल गरिरहनु भएको थियो, यही सोध्न खोज्दा विवाद भएको हो । तर कुटाकुट नभएर घम्साघम्सी चाँहि भएकै हो ।’
उनका अनुसार प्रधानाध्यापकले आफ्नो समर्थक शिक्षकलाई चाहेको बेला पेश्की रमक दिने गरेका छन् । ‘तर मैले आमा बित्दा पेश्की रकम मागेको हुँ, त्यसमा पनि उहाँको आलटाल छ, त्यहीँ भएर विवाद सृजना भएको हो,’ उनले भने ।
शिक्षक यादवले क्रिया खर्चका लागि ५० हजार रुपैयाँ पेश्की रकम माग गरेको जनाएका छन् । यता प्रधानाध्यापक जगरनाथ यादवले पनि पेश्की रकम नदिँदा विवाद भएको स्वीकारेका छन् ।
उनी भन्छन्, ‘मसंग शिक्षक रोहितले ५० हजार रुपैयाँ क्रिया खर्चबापत पेश्की मागेको थियो । तर अहिले पैसा छैन, २५ हजार दिन्छु मैले भनेको थिएँ । यही विषयमा उसले मसंग आएर विवाद गरेको हो ।’
शिक्षक यादव मसंग उच्छृङ्खल व्यवहार गर्दै मेरो कोठा बन्दसमेत गरेको प्रधानाध्यापक यादवको आरोप छ ।