ट्रेन्डिङ

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका २० अस्पतालको अनुगमन, भने – सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैँन, प्रक्रिया पुरा गरेर मात्र अस्पताल चलाउनुस्

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनकपुरधामका २० वटा अस्पतालहरुको अनुगमन गरेका छन् । शनिबार मुख्यमन्त्री सिंहले मुजेलियादेखि भ्रमरपुराचोकसम्मका अस्पतालहरुको अनुगमन गरेका हुन् ।

उनले जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल एपोलो हस्पिटल, श्रीराम हस्पिटल, नयना अस्पताल, अरमान हस्पिटल, मिहिलाल इन्टरनेसनल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर, स्वस्तिका हेल्थकेयर अस्पताल, लाइफ केयर एन्ड रिसर्च सेन्टर र ओम दीर्घायु हस्पिटलमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा अधिकांश अस्पतालहरु जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले मापदण्डविपरित यहाँ सञ्चालित निजी अस्पतालहरूलाई आइतबार (भोली) सम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिएको बताए ।

बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएको जनाए ।

मुख्यमन्त्री सिंहले अनुमति वेगर तवरले ती अस्पताल र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पुरा गरेको अवस्थामा नदेखिएका अस्पताललाई अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन सञ्चालकहरूलाई भनेका छन् ।

उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनी समेत दिए ।

उनी भन्छन्, ‘सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोली परिचालन गरेरै बन्द गराउनेछौँ ।’

मुख्यमन्त्री सिंहले दर्ता तथा प्रक्रिया पुरा नगरी अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए ।

निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको सँख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर र भौतिक संरचनाबारे उनले जानकारी लिएका थिए ।

अनुगमन टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए ।

अनुगमन टोलीका सदस्य एवम् जनस्वास्थ्य अधिकृत ठाकुरले अस्पतालहरुको इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एक्सरे, प्रसूती कक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रिया लगायत विषयमा अनुगमन गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले अनुगमन भएका मध्ये केही अस्पतालसँग अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भए पनि अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएका, जस्वास्थ्य नियमावलीले तोकिएका मापदण्डअनुसार अधिकांश अस्पतालमा भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाटै अस्पताल फार्मेसी सञ्चालन भएका, धेरैजसो अस्पतालमा एकाधबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा  कर्मचारी नभेटिएका देखिएको जानकारी दिए ।

यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी अस्पताल सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएका थिए । अस्पताल सञ्चालकले शनिबार मुस्कान अस्पताललाई बन्द गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै