काठमाण्डौँ । प्रणय दिवस सप्ताह अर्थात ‘भ्यालेन्टाइन डे’ को आज दोस्रो दिन ‘प्रपोज डे’ । प्रेम दिवसको दोस्रो दिन आज विशेषगरी प्रेमिल जोडीले आफ्नो भावना/ प्रेम प्रस्ताव राख्ने गर्दछन् ।
आजको दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने उपयुक्त दिन मानिन्छ । त्यसो त आफ्नो प्रेम व्यक्त गर्नलाई कुनै विशेष समय र दिन आवश्यक पर्दैन । तर तपाईं लामो समयदेखि कसैलाई मन पराउनुहुन्छ तर प्रेम व्यक्त गर्न सकिरहनु भएको छैन भने आजको दिन तपाईका लागि उपयुक्त हुन सक्छ ।
भनिन्छ, प्रेम आँखाबाट सुरु हुन्छ र मनमा पुगेर टुगिन्छ ।’ प्रेम आँखाले गर्ने कि मनले ? निसन्देह मनले । तर, यसको सुरुवात आँखाबाट हुन्छ । जब एकअर्कालाई देखिन्छ, मन पराइन्छ, आकषिर्त भइन्छ, भेटिन्छ, गफ मारिन्छ । तब मनमा प्रेम फुल्छ ।
नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।
तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।
भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।
अंग्रेजीमा एउटा भनाई छ, ‘वेल बिगन इज हाफ डन ।’ अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रपोज अर्थात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?
निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।
कसरी व्यक्त गर्ने प्रेम ?
पछिल्लो समय भ्यालेन्टाइन डे सप्ताह मनाउने चलन बढ्दो छ । अझ दोस्रो दिन आज ‘प्रपोज डे’ मा विशेषगरि मायालु व्यक्तिहरुलाइ प्रेम व्यक्त गरिन्छ ।
यस दिन आफ्नो मनपर्ने केटा वा केटीसँग मन, भावना साट्नुका साथै विवाह गर्ने इच्छा पनि व्यक्त गर्छन् । कसैलाई लामो समयदेखि प्रेम गर्दै आइरहको र यस दिनलाई पर्खिरहेकोहरूलाई झन् विशेष हुन सक्छ ।
मानिसहरु आफ्नो पार्टनरसँग डेट गर्ने योजना बनाउँछन् र यो दिन धेरैले विवाहको प्रस्ताव पनि दिने विश्वास गरिन्छ । तर धेरै मानिसमा यस्तो समस्या हुन्छ कि उनीहरुलाई आफ्नो पार्टनरलाई कसरी प्रपोज गर्ने भन्ने थाहा हुँदैन ।
यहाँ तपाईंको पार्टनरलाई तपाईंले कसरी मनको भावना व्याख्या गर्ने भन्नेबारे केहि तरिकाहरू प्रस्तुत गरेका छौँ ।
१) तपाईं आफ्नो पार्टनरलाई स्पेशल महसुस गराउनको लागि ‘क्यान्डल लाइट डिनर’ को योजना बनाउन सक्नुहुन्छ। यसका लागि रेस्टुरेन्ट वा घरमा पनि व्यवस्था गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।
२) प्रेम व्यक्त गर्ने माध्याम उपहार पनि हो । यस्तो उपहार छनौट गर्नुहोस्, जसमा तपाईको प्रेम छछल्कियोस् अर्थात् उपहारले तपाईको आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ ? के मन पराउँछ ?
प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
३) यदि तपाईं आफ्नो पार्टनरलाई विशेष महसुस गराउन चाहनुहुन्छ भने, समुद्र तटमा प्रस्ताव गर्नु पनि राम्रो विचार हो। त्यसको लागि पार्टनरलाई पानी मनपर्छ भने झनै राम्रो । समुद्र तटमा तपाईंले रोमान्टिक प्रस्तावको योजना बनाउन सक्नुहुन्छ ।
४) परिवार र साथीहरूको बीचमा आफ्नो पार्टनरलाई प्रस्ताव गर्नु भन्दा राम्रो अरू केहि हुन सक्दैन। यदि तपाईंको पार्टनर परिवारको सदस्य वा साथीसँग धेरै नजिक छ भने, तपाईंले त्यस व्यक्तिको अगाडि प्रस्ताव राख्न सक्नुहुन्छ। यसबाट तपाइको पार्टनरले प्रगाढ सम्बन्ध तथा तपाईं प्रेम साँचो महसुस गर्नेछन् । र उसलाई आनन्द महसुस हुनेछ ।
५) तपाईंले आफ्नो पार्टनरसँग भ्रमण गर्नुभएको पहिलो स्थान कुन हो, त्यहाँ गएर उनलाई प्रपोज गर्नु पनि राम्रो कुरा हो । यसले उसलाई विशेष महसुस गराउनेछ कि तपाईंको पार्टनरले पहिलो भेटको बारेमा सबै कुरा सम्झनुहुन्छ।
६) कहिलेकाहीँ एउटा सानो स्मरण नै तपाईंको सम्बन्धलाई धेरै सुधार गर्न पर्याप्त हुन्छ। यदि तपाईं आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने, तिनीहरूको लागि गुणस्तर समय निकाल्नुहोस्। पूरै दिनको योजना बनाउनुहोस् र समय बिताउनुहोस्र। यसरी विशेष महसुस गराउनुहोस्।
७) अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।