धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनकपुरधाम उपमहानगरपालिकास्थित मुस्कान अस्पतालको अनुगमन तथा निरिक्षण गरेका छन् । शुक्रबार राती मुख्यमन्त्री सिंहले उपमहानगरपालिकाको वडा नम्बर १४ मा रहेको उक्त अस्पतालको अनुगमन तथा निरिक्षण गरेेका हुन् ।
पिडारीचोकमा रहेको उक्त अस्पतालले पित्तथैलीको शल्यक्रियामा गरेको लापरबाहीबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । सोहीबारे जानकारी पाएलगत्तै उनले अस्पतालको छड्के अनुगमन गरेका हुन् ।
मुख्यमन्त्री नेतृत्वको टोलीले अस्पतालको इमरजेन्सी कक्ष लगायतको अनुगमन गर्दै कामकारबाहीबारे ब्रिफिङ लिएको छ ।

अनुगमनपश्चात् मुख्यमन्त्री सिंहले मुस्कान अस्पताल दर्ताबिनै सञ्चालनमा रहेको पाइएको बताए । उक्त अस्पतालले दर्तैबिना बिरामीको उपचार गरेर स्वास्थमाथि खेलवाड गरेकाले त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्न उनले निर्देशन दिए ।
त्यस अस्पतालमा उपचाररत बिरामीलाइ अन्य अस्पतालमा स्थानान्तरण गर्न समेत मुख्यमन्त्री सिंहको निर्देशन छ । साथै उनले कानुनको पालना गरि अस्पताल दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन चेतावनी दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सैयद अलि सञ्चालक रहेको भनिएको यो अस्पताल मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दर्ता भएको छैन । यद्यपि अस्पताल दर्तै बिना सञ्चालनमा छ ।