वीरगन्ज । लागू औषध गाँजासहित दुइ महिलासहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्रसौनी गाउँपालिका वडा नम्बर २ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–२ प्रसौनी बस्ने ५५ वर्षकी रम्भा देवी मुखिया, उनका छोरा ३५ वर्षका जोगिन्द्र मुखिया र पर्सा बिन्दबासीनी गाउँपालिका–२ गर्दैल बस्ने ६० वर्षकी ममता देवी मुखिया छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बजार टोलबाट भलुहीतर्फ पैदल जाँदै गरेका उनीहरुलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उनीहरुको साथबाट गाँजा फेला पारेको डिएसपी प्र्रकाश सापकोटाले बताए ।
उनका अनुसार उनीहरु तीनै जनाको साथबाट गरी ९ किलो दुइ सय ग्राम गाँजा फेला पारेको हो ।
पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।