वीरगन्ज । पर्सासहित देशभर आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु भएको छ ।
पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा खोप समन्वय समितिका अध्यक्ष निरन्जन प्रसाद साह सोनारले संयुक्त रुपले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित मदर्सा तौहिदील इस्लाम सलफिया माविबाट अभियान शुभारम्भ गरेका हुन् ।
सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत यही माघ २२ गतेदेखि ६ फागुनसम्म छात्राहरुका लागि एकैपटक यो खोप अभियान सुरु गरेको हो । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन जिल्ला स्वास्थ्य कार्यालय पर्साले अनुरोध गरेको छ ।
पर्सामा कति ?
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पर्साका साढे ३८ हजार भन्दा बढी छात्रालाई लगाइँदैछ । अभियान अन्र्तगत पर्साका ३८ हजार ६८६ जना किशोरीलाई यो खोप लगाइने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका खोप अधिकृत जयमोद ठाकुरका अनुसार विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिरका गरी ती सङख्याका किशोरीहरुलाई एचपीभी खोप लगाइनेछ ।
कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययनरत ३१ हजार १६० र विद्यालय बाहिर रहेका सात हजार ५२६ गरी ३८ हजार ६८६ जना छात्रालाई उक्त खोप लगाउने लक्ष्य कार्यालयको छ ।
कति चरणमा लगाइने ?
जिल्लाका १४ वटै पालिकाका किशोरीहरुलाई दुइ चरणमा एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका अनुसार प्रथम चरणमा माघ २२–२८ सम्म वीरगन्ज महानगरपालिकाका वडा नम्बर १ देखि १६, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका र पोखरीया नगरपालिकाका किशोरीहरुलाई खोप दिइने छ ।
त्यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर १७ देखि ३२, बहुदरमाई नगरपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका, बिन्दबासीनी गाउँपालिका, कालिकामाई गाउँपालिका, ठोरी गाउँपालिकाका किशोरीहरुलाइ दोस्रो चरणमा खोप लगाइने कार्यालयको तयारी छ ।
खोप लगाउनका लागि जिल्लाभर ३५० वटा केन्द्रहरु स्थापना गरीएको खोप अधिकृत ठाकुर बताउँछन् ।
उनका अनुसार हरेक एक खोप केन्द्रमा एक जना खोपकर्ता तथा दुइ जना स्वयम्सेवकहरुमार्फत खोप लगाइदैँछ ।
तीन सय ५० जना खोपकर्ता तथा ७०० जना स्वयम्सेवकहरु खोप केन्द्रहरुमा परिचालित गरिएको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।