महोत्तरी । महोत्तरीमा एक युवतीको हत्या भएको छ । धारिलो हतियारको प्रयोग गरी १९ वर्षीय युवतीको हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ ।
जिल्लाको गौशाला नगरपालिका वडा नम्बर–८ निवासी खुश्बु यादवको हत्या भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवालले बताए । उनका अनुसार आइतबार विहान मृत अवस्थामा उनी भेटिएकी हुन ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा मृतक यादवको धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको पाइएको छ ।
प्रहरी प्रवक्ता जैसवालले भने, ‘हामी घटनास्थलमा जाँदा हत्या गरी शव फ्यालिएको थियो, उनको मुख, टाउँकोमा प्रहार गरिएको छ । जसबाट प्रष्ट हुन्छ हत्या गरिएको छ ।’ पारिवारिका विवादका कारण हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ ।
हत्या भए लगत्तै मृतक यादवका श्रीमान फरार भएको हुनाले पारिवारिक विवादका कारण हत्या भएको प्रहरी ठम्याइ रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
यद्यपी, घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको महोत्तरी प्रहरीको भनाइ छ । मृतक यादवको केही समय अगाडि मात्रै विवाह भएको थियो ।