
वीरगन्ज । भारतमा चलिरहेको कुम्भ मेलामा गत बुधबार भएको भागदौडमा पर्साकी दुइ जना महिला सम्पर्कविहिन भएकी छन् ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएकोमा बुधबार बिहान एक्कासी भागदौड मच्चिएको थियो । सोही क्रममा पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा गाँउ निवासी चन्दकिशोरी देवी गिरी र सोनामती कुशवाहा सम्पर्कविहिन भएकी हुन् ।
बुधबार बिहान कुम्भ मेलामा भएको भागदौडमा परी ती दुवैजना सम्पर्कविहिन भएको उनीसँगै मेला दर्शन गर्न गएका छिमेकीले फोन गरेर जानकारी गराए ।
उनीहरु गाँउका अन्य टोली महाकुम्भ मेलाका लागि यहाँबाट गएका थिए । उनीहरुको खोजी तीव्र पारिएपनि अवस्थाबारे पत्ता लागेको छैन ।
खोजीका लागि अपील :
आफ्ना नगरपालिकाका दुइ जना महिलाहरु एकाएक मेलामा सम्पर्कविहिन भएपछि नगरप्रमुख प्रद्युम्न चौहानले खोजीका लागि अपील गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नगरप्रमुख चौहानले सम्पर्कविहिन दुवै महिलाहरुको खोजीका लागि अपील गरेका हुन् । बेपत्ता उनीहरुको खोजीका लागि सहयोग गरि फेला पार्ने व्यक्तिलाई ह्वाट्सअप नम्बर ९८०६८१८९४७ मा सम्पर्क गर्न मेयर चौहानले अनुरोध गरेका छन् ।
महाकुम्भ मेलामा बुधबार बिहान १.३० बजेतिर मौनी अमावास्याको स्नानको तयारी भइरहेका बेला अचानक भएको भागदौड मच्चिएको थियो । भागदौडमा परी ३० भन्दा बढी भक्तजन हताहत भएका थिए । भने कैयौँ घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् ।