धनुषा । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको तयारी पूरा भएको छ ।
यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने खोप अभियानको तयारी पूरा भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा दुई साताको खोप अभियानका लागि तयारी पूरा भएको बताएका हुन् ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ । यो अभियानको लागि १७ लाख ७० हजार २० मात्रा एचपीभी खोप देशभर लगाइने छ ।
यसैबिच मधेस प्रदेशका साढे ३ लाखभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइदैँछ ।
प्रदेशका ८ जिल्लाबाट विद्यालय जाने दुइ लाख ९३ हजार ९१३ तथा विद्यालय बाहिरका ७५ हजार २११ जना गरी प्रदेशभर तीन लाख ६९ हजार १२४ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाउने मधेस स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यसका लागि स्वास्थ्यकर्मीलाई दक्ष बनाउने कामसमेत भइसकेको निर्देशनालयको दाबी छ ।