महोत्तरी । महोत्तरी प्रहरीले एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय पाई फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अभियान नै चलाएर जिल्लाका फरकफरक स्थानहरुबाट उनीहरुलाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको महोत्तरीका डिएसपी सन्तुलाल जैसवारले बताए ।
पक्राउ पर्नेहरुमा ६ जना कुटपीट, दुइ जना सवारी ज्यान र एक जना चलन घटक मुद्दाका प्रतिवादी छन् । प्रहरीले जलेश्वर नगरपालिका–७ बस्ने रामबाबु साह, रामगोपालपुर नगरपालिका–२ बस्ने रशिलाल मण्डल, वडा–१ बस्ने रामनिरश मण्डल, रामनारायण मण्डल, ब्रहमदेव मण्डल, रामकरण मण्डल रहेका छन् ।
यसैगरी रामगोपालपुर नगरपालिका–७ बस्ने रामजानकी मण्डल, बर्दिबास नगरपालिका– १ निवासी लिला बहादुर तामाङ र कृष्ण बहादुर रम्तेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।