
बारा । राष्ट्रीय खोप अभियान अन्तर्गत बारामा पनि माघ २३ गतेदेखि पाठेघर रोगविरुद्घको खोप (एचपीभी) लगाइदैछ ।
आज बसेको जिल्ला स्तरीय खोप समन्वय समिति तथा सन्चारकर्मीहरुको अभिमुखिकरण बैठकमा यसबारे जानकारी गराइएको हो ।
स्वास्थ्य कार्यालय बाराले जिल्ला प्रशासन कार्यालयको सभाहलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय बाहिरका १० बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिइने तयारी गरिएको जनाए ।
उनका अनुसार अभियानको पहिलो दिन विद्यालय तथा अन्तिम दिन स्वास्थ्य चौकिहरुमा खोप लगाईनेछ ।
यहाँ प्रथम चरणमा माघ २३-२५ सम्म जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगर,परवानीपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिा, प्रसौनी गाँउपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकामा खोप लगाईनेछ ।
त्यस्तै दोस्रो चरणमा फाल्गुन ४-६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकाका किशोरीहरुलाइ यो खोप दिईनेछ ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, बारा प्रहरीका डिएसपी प्रकाश सापकोटा, प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ता, शिक्षा बिकास समन्वय ईकाई बाराका प्रमुख हेमराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी, उधोग बाणिज्य संघका महा सचिव रामाशिश साह, एन प्याबशन बाराका उपाध्यक्ष सुमोध कुमार सरार्फ, जिसस अधिकारी अमोद चौधरी सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सरकारले २०८१ माघ २२ देखि फाल्गुण ०६ गतेसम्म देशभरी एकै पटक एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।