
वीरगन्ज । मधेस प्रदेशका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जनाको शव फेला परेको छ । प्रदेशको बारा, रौतहट तथा सिरहा जिल्लामा तीन जनाको शव फेला परेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिर एरियामा एक जना पुरुष मृत भेटिएका छन् । मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कचमा एक पुरुषको शव बरामद भएको छ । कर्कचस्थित माछा पोखरीमा जिल्लाकै कटहरिया–५ बस्ने ५८ वर्षका रामचन्द्र राय यादव मृत भेटिएका हुन् ।
यस्तै सिराहाको कर्जन्हा नगरपालिका–६ बेतहास्थित पोखरीमा पनि सोही नगरपालिका–७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी प्रहरीको भनाइ छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।