ट्रेन्डिङ

वीरगन्जको तापक्रम १२ डिग्री, चिसोका कारण सर्वसाधारण मारमा

स्वास्थ्यको ख्याल राख्न आग्रह

वीरगन्ज । अत्याधिक चिसोका कारण पर्सासहित मधेस प्रदेशका सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ ।

विगत तीन दिनयता बढेको अत्याधिक चिसो र शितलहरका कारण मधेसबासी प्रभावित बनेका छन् । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा र बिहिबार शितको वर्षा भएपछि यहाँ अत्याधिक चिसो महसुस गरिएको हो ।

विगत तीन दिनदेखि यहाँ घाम उदाएको छैन । साथै शितलहर र शितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदुरी गर्ने, रिक्सा तथा ठेला चालकहरु मारमा परेका छन् ।

यस्तै दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धा विशेषरुपले पीडित छन् । चिसोका कारण गरिब, विपन्न परिवारलाई निकै सास्ती भएको छ । यहाँ दिनभर नै हुस्सु कुहिरोले ठाकेर दिउँसै अन्धकारमय वातावरण छ । यद्यपी आज भने पर्साको मौसममा केहि परिवर्तन आउने अनुमान गरिएको छ ।

स्थानीयहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । भने विद्यालयहरुमा समेत जाडो बिदा दिइएको छ । वीरगन्जमा बिहिबार (हिजो) साँझ पौने ६ बजे १५ डिग्री र शुक्रवार (आज) न्युनतम १२ डिग्री तापक्रम मापन गरिएको छ ।

यसैबिच चिसोबाट बच्ँन विशेष सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । वीरगन्जको नारायणी अस्पतालका फिजीसियन डा. उदय नारायण सिंहले न्यानो कपडा लगाउन, झोलिलो तथा तातो खानेकुरा खान, अत्यावश्यक काम बाहेक घर बाहिर नजान, जानै परे बाक्लो लगाउन अनुरोध गरे ।

यस्तै दैनिक ज्याला मजदुरी गर्ने, रिक्सा तथा ठेला चालकहरुमा समेत बाक्लो लुगा लगाएर काममा निस्किन, समयसमयमा आराम गर्न उनले आग्रह गरेका छन् । स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा वा चिकित्सकसँग परामर्श लिन उनको अनुरोध छ ।

यस्तै हुस्सु तथा कुहिरोले सडक ढाक्ने हुनाले सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीको अपील छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै