ट्रेन्डिङ

मधेस : सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१ को प्रस्ताव सदनमा पेश, गृहमन्त्रीले जनाए आपत्ती

जनकपुरधाम। प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव मधेस सभाको सदनमा पेश गरिएको छ ।

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले आजको सदनमा उक्त विधेयक छलफलका लागि पेश गरेकी हुन् ।

सो विधेयकमा मधेशमा सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई समेटिएको छ ।

विधेयकको दफा २ को उपदफा (ख) मा सरकारी कामकाजको भाषा भन्नाले ‘मधेश प्रदेशको सरकारी कार्यालयहरुमा लिखित वा मौखिक रुपमा प्रयोग हुने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी सम्झनु पर्छ ’उल्लेख छ ।

तर, मधेशका गृह तथा सञ्‍चारमन्त्री राजकुमारी लेखीले थारू भाषालाई लत्याएर विधेयक ल्याएको बताएका छन् । आफूले मन्त्रिपरिषद्‌को बैठकमा पटक-पटक रातो कलमले घेरा गरेर थारू भाषा राख्‍न आग्रह गरेको भएपनि संस्कृति मन्त्री नदेखेझै गरेर थारू भाषालाई झिकेर विधेयक पेश गरिदिएको आरोप लगाए ।

सरकारी कामकाजको भाषाबारेको विधेयकमा अब संशोधन दर्ता गर्ने उनको भनाइ छ । ‘मधेशका सप्तरी, सिरहा, महोत्तरी, बारा र पर्सामा थारू भाषा बोल्‍ने अधिकांश ठाउँमा कसरी मैथली र भोजपुरी लागू हुन सक्छ ? यो त थारू भाषीमाथिको अन्याय हो। हामी थारू भाषा सरकारी कामकाजको भाषा बनाइयोस भनेर संशोधन दर्ता गर्छौं।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै