वीरगन्ज । चितवनमा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धीबहादुर घर्ती भुजेललाई चितवन प्रहरीले निलम्बन गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोड क्षेत्रमा पुष १५ गते भएको उक्त घटनामा संलग्न असई भुजेललाई निलम्बन गरिएको चितवन प्रहरीका प्रमुख गौतम मिश्रले बताए ।
एसपी मिश्रका अनुसार त्यो रात भएको घटनाले सर्वसाधारणलाई प्रहरीमाथि अविश्वासको वातावरण निर्माण गरेकाले उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको हो ।
घटनाको छानबिनका लागि चितवन प्रहरीले डिएसपी ज्ञानकुमार महतो संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
घटनाको यथार्थ खुलेपछि युवकमाथि कुटपिट गर्ने प्रहरीलाई प्रहरी ऐन अनुसार कारबाही सिफारिस गर्ने एसपी मिश्र बताउँछन् । उनले प्रहरीको यो आचरणले सर्वसाधारणमाथि क्रास पैदा गरेकोले यस्ता कार्य कतै सह्यै नहुने र दोषीलाई हदैसम्मको कारबाही गर्ने बताए ।
प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा प्रहरीले कसलाई फोन गर्छस् गर भन्दै युवकलाई बुटै बुटले हिर्काएका छन् ।