ट्रेन्डिङ

मधेसमा २२ माघदेखि एचपीभी’ खोप, किन लगाइदैँछ ?

साढे ३ लाख बढी किशोरीलाई खोप लगाइने तयारी

वीरगन्ज । मधेस प्रदेशमा साढे ३ लाखभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइदैँछ । अबको १७ दिन पछाडि प्रदेशभरि ‘एचपीभी’ खोप सञ्चालन हुँदैछ ।

खोप अभियानअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यक्रम तय छ ।

प्रदेशका एक हजार ६८१ सामुदायिक तथा एक हजार ६४४ संस्थागत गरी तीन हजार ३२५ विद्यालयका छात्राहरु तथा विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउने लक्ष्य लिइएको मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विद्यालय जाने दुइ लाख ९३ हजार ९१३ तथा विद्यालय बाहिरका ७५ हजार २११ जना गरी प्रदेशभर तीन लाख ६९ हजार १२४ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाउने निर्देशनालयले जानकारी दिएको छ । त्यसका लागि स्वास्थ्यकर्मीलाई दक्ष बनाउने कामसमेत भइसकेको निर्देशनालयको दाबी छ ।

मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान दिइसकिएको बताए । उनका अनुसार तालिममा प्रत्येक जिल्लाबाट स्वास्थ्यकर्मी, ‘फोकल पसर्नहरु’ र खोप अधिकृतहरुलाई बोलाइएको थियो ।

मधेस सञ्चार अनलाइनसँग कुराकानी गर्दै उनले भने, ‘हामीले गत ३ र ४ गते नै प्रदेश लेभलको बैठक डाकेका थियौं, त्यहाँ खोप अभियानसम्बन्धी दुइदिने प्रशिक्षण चल्यो । तालिमबाट खोप अभियानमा जोडिनुहुने स्वास्थ्यकर्मी लगायतलाई कसरी अभियान सञ्चालन गर्ने त्यसबारे जानकारी गराइयो । अब उहाँहरुले आ–आफ्नो क्षेत्रमा अन्यलाई प्रशिक्षण दिदैँ हुनुहुन्छ ।’

‘खोप अभियानलाई प्रभावकारी बनाउन अहिले जिल्ला स्तरीय, नगरस्तरीय तथा वडास्तरीय खोप समिति गठन गरेर स्वस्थ्यकर्मी तथा स्वंसेविका, खोपकर्ताहरुलाई छुट्टाछुट्टै तालिम दिइनेछ, जुन सम्बन्धीत पालिकाका प्रमुखहरुले गर्दैहुनुहुन्छ’, उनले भने ।

मधेस स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण कुमार नायकले खोप अभियान सञ्चालनका लागि जिल्ला तथा स्थानीय तहबाट ‘ब्रिफिङ’ लिइएको सुनाए । उनका अनुसार अहिले हरेक जिल्लाहरुमा खोप अभियानलाई प्रभावकारी बनाउन संयोजन तथा पूर्वतयारीका कामहरु भइरहेका छन् ।

उनले भने, ‘धेरैभन्दा धेरै किशोरीलाई खोप लगाउन हरेक जिल्लाका स्वास्थ्यकर्मीहरुले विभिन्न गतिविधि गर्दै हुनुहुन्छ । खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित शिक्षा, सञ्चारलगायत अन्य सरोकार भएका पक्षसँग प्रदेशबाट अभिमुखीकरण कार्यक्रम भइसकेका छन् । अब उहाँहरुले पनि आ–आफ्नो ठाउँहरुबाट त्यसका लागि विभिन्न गतिविधीहरु सुरु गरिसक्नुभएको छ ।’

‘पाठेघरको मुखको क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भनेको यसविरुद्धको खोप लगाउनु हो । समयमा रोगको निदान तथा उपचार नभएर महिलाहरुले मृत्युवरण गर्नुपरेका घटना दोहोरिन नदिन लक्षित समूहका सबै किशोरीहरुलाई खोपको पहुँचमा ल्याउनु जरुरी छ । त्यहीकारण लक्षित उमेर समूहका कोही पनि किशोरीहरुलाई नछुटाइ खोप लगाउनु हाम्रो मुख्य टार्गेट हो’, उनले भने ।

खोप अभियानलाई सफल बनाउन तथा शतप्रतिशत किशोरीलाई खोप लगाउन अहिले समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि भइरहेको उनको भनाइ छ ।

पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन किशोरीहरुलाई ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको निर्देशक नायकले बताए । विद्यालय बाहिरका किशोरीलाई खोप लगाउन आफ्नो परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ । भने विद्यालय जानेहरुका लागि विद्यालयमा दर्ज विवरणको आधारमा लगाइने उनको भनाइ छ ।

कुन जिल्लामा कति ?

मधेस स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका लक्षित उमेर समूहकामध्ये विद्यालय जाने तथा विद्यालय बाहिरका गरी तीन लाख ६७ हजार १२४ जना किशोरीलाई यो खोप लगाउने तयारी छ ।

जसअनुसार सबैभन्दा बढी प्रदेश राजधानी धनुषाका किशोरीहरुलाई एचपीभी खोप दिइदैँछ छ । अर्थात्, धनुषामा ५६ हजार २८२ जनालाई यो खोप लगाउने योजना छ ।

यसैगरी सर्लाहीमा ५१ हजार ७२४, रौतहट ४९ हजार २६९ तथा सिरहामा ४५ हजार ४६३ जनालाई उक्त खोप दिइनेछ । यस्तै बारा ४५ हजार ५३५, महोत्तरी ४५ हजार ४६४, पर्सा ३८ हजार ६८६ तथा सप्तरीमा ३६ हजार ७०१ जना किशोरीलाई खोप लगाइने निर्देशनालयको तयारी छ ।

कति खोप केन्द्र ?

खोप अभियानका क्रममा कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप दिइनेछ । विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरीहरूलाई अन्य केन्द्रमार्फत खोप लगाइनेछ ।

त्यसका लागि हरेक जिल्लामा छुट्टाछुट्टै गरी प्रदेशभर तीन हजार ६७१ खोप केन्द्र स्थापना गरीने मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत झा बताउँछन् । उनका अनुसार पर्सामा ३५०, बारा ४२६, रौतहट ३८०, सर्लाही ५१९ वटा केन्द्रमार्फत उनीहरुलाई खोप लगाइनेछ ।

यस्तै महोत्तरी ४८१, धनुषा ५४२, सिरहा ५३४ तथा सप्तरीमा ४३९ गरी जम्मा तीन हजार ६७१ वटा केन्द्र स्थापना गरी खोप लगाइने मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कति खोपकर्ता ?

यो अभियानका लागि प्रत्येक खोप केन्द्रहरुमा खोपकर्ता परिचालन गरिनेछ । अर्थात् एक खोप केन्द्रमा एक खोपकर्ताले किशोरीहरुलाई खोप लगाउन सघाउने निर्देशनालयले जनाएको छ ।

यसलाई यसरी बुझौँ, तीन हजार ६७१ खोप केन्द्रहरुमा बराबरी सङख्यामा खोपकर्ताहरु परिचालित गरिनेछ । प्रदेशभर तीन हजार ६७१ जना नै खोपकर्ताहरु यस कार्यमा परिचालित हुने अधिकृत झाले बताए ।

हरेक खोप केन्द्रहरुमा यो अभियानका लागि दुइ जना स्वयम्सेविकाहरु खटाइने स्वास्थ्य निर्देशनालयको भनाइ छ ।
यानिकी, प्रत्येक स्थानका खोप केन्द्रहरुमा दुइ/दुइ जना गरी प्रदेशभर सात हजार ३४२ जना स्वयम्सेविकाहरु यस अभियानका लागि परिचालित हुनेछन् ।

जसमध्ये पर्साबाट ७००, बारा ८५२, रौतहट ७६०, सर्लाही एक हजार ३८ जना खटिनेछन् । यस्तै महोत्तरी ९६२, धनुषा १०८४, सिरहा १०६८ तथा सप्तरीमा ८७८ जना स्वयम्सेविकाहरुमार्फत खोप लगाइने निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै