धनुषा । मधेसमा विभिन्न कार्यक्रमसहित आज बलिदानी दिवस मनाइदैँछ ।
प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको अवसरमा दिवस मनाउन लागिएको हो । मधेश केन्द्रित दल तथा मधेश सरकारले दिवस मनाउँदैछन् ।
प्रदेश सरकारले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा दिवस मनाउने जनाएको छ । गृह संचार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले आयोजनामा सातौं बलिदानी दिवस मनाउन लागेको हो ।
कार्यक्रमको रुपमा प्रमुख अतिथि मुख्यमन्त्री सतिशकुमार छन् भने प्रदेश सरकारका मन्त्री, सचिव तथा मातहतका निकायको समेत उपस्थिति रहने जनाएको छ ।
यस अवसरमा सहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
२०६३ साल ५ माघ गते आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएपछि प्रथम मधेश आन्दोलनको शंखनाद भएको थियो ।
शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दलहरु बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।