वीरगन्ज । नेकपा एमालेका नेता जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान तथा शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पर्सा जिल्ला अदालतले शुक्रबार नसिर अहम्मद मन्सुरी र जाफिर अहम्मदलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको हो ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र मल्लले अदालतको आदेशअनुसार दुवै जना कारागार चलान भएको जानकारी दिए ।
उनीहरूमाथि आफ्नै सालीको हत्या गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले केही साताअघि दुवै जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान अघि बढाएर अदालतमा पेस गरेपछि अदालतले दुवै जनालाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको हो ।
अदालतको आदेशसँगै जालिम मियाँका दुवै छोरा अब मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमै रहनेछन् ।