वीरगन्ज । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले जर्मन टोली बायर लेभरकुसेनलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
समग्रमा ३–१ को नतिजा निकाल्दै आर्सनल अन्तिम आठमा प्रवेश गरेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनल सुरुदेखि नै आक्रामक देखिएको थियो।
खेलको ३६ औँ मिनेटमा एबेरेची एजेले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफ १–० को अवस्थामा टुंगिएको खेलमा आर्सनलले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।
६३ औँ मिनेटमा डिक्लान राइसले गोल थपेपछि आर्सनलले २–० को मजबुत अग्रता बनायो।
त्यसपछि लेभरकुसेनले खेलमा फर्कने प्रयास गरे पनि आर्सनलको बलियो रक्षापङ्क्ति तोड्न सकेन।
पहिलो लेगमा कडा प्रतिस्पर्धा गरेको लेभरकुसेन दोस्रो लेगमा भने प्रभावहीन देखियो।
समग्र प्रदर्शनमा उत्कृष्ट देखिएको आर्सनलले ३–१ को जितसहित क्वाटरफाइनलमा स्थान बनाउँदा लेभरकुसेनको यात्रा यहीं समाप्त भएको छ।