ट्रेन्डिङ

हमासद्वारा २० इजरायली बन्धक रिहा

वीरगन्ज । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा हमासले सोमबार २० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ।

बीबीसीका अनुसार, यी बन्धकहरूलाई रेडक्रसको मध्यस्थतामा गाजाका विभिन्न स्थानबाट इजरायली सेनाको जिम्मा लगाइएको छ।

सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा हमासले गरेको आक्रमणका क्रममा अपहरण गरी गाजा पुर्‍याइएका बन्धकहरू रिहा भएका हुन्। रिहा हुनेहरूमा जुम्ल्याहा दाजुभाइ गली र जि बर्मन समेत छन्, जसको इजरायली सैनिकसँग अंकमाल गरिरहेको तस्बिर इजरायली सेनाले सार्वजनिक गरेको छ।

बन्धक रिहाइको यो सहमतिले नेपालका विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको थियो। विपिनलाई पनि अक्टोबर ७ मा नै हमासले बन्धक बनाएको थियो। यद्यपि, सोमबार रिहा भएका बन्धकहरूको सूचीमा विपिनको नाम छैन र उनको अवस्थाबारे हालसम्म कुनै यकिन विवरण प्राप्त भएको छैन।

विपिनका दाजुले भने आशा मारिनसक्ने अवस्था नरहेको र हमासले अझै धेरै बन्धकहरूलाई छोड्नुपर्ने बाँकी रहेको बताएका छन्।

बन्धक रिहाइको यो घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल भ्रमणमा पुगेका छन्। ट्रम्पले सोमबार नै इजरायली संसदलाई सम्बोधन गर्ने र बन्धकका परिवारलाई भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिका, इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो।

सम्झौताअनुसार, हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै