वीरगन्ज । चीनको उच्च पदस्थ अधिकारीहरूलाई लक्षित भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार मृत्युदण्डको सजाय सुनाइएको छ। यद्यपि, उनलाई दुई वर्षको निलम्बित समयावधि दिइएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न महत्वपूर्ण पदहरूमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यको नगद र सम्पत्ति घुसस्वरूप लिएको ठहर भएको छ। अदालतले यो घुसप्रकरणले देश र जनताको हितमा गम्भीर क्षति पुर्याएको भन्दै मृत्युदण्डको फैसला गरेको हो।
अदालतको फैसलाअनुसार ताङलाई उनका सम्पूर्ण राजनीतिक अधिकारहरूबाट वञ्चित गरिएको छ। साथै, उनको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिने र घुसबापत आर्जन गरिएको सम्पत्ति राष्ट्रिय कोषमा जम्मा गरिनेछ।
सिन्ह्वाका अनुसार, ताङले अदालतमा आफ्ना अपराध स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका थिए।
यो उच्च प्रोफाइलको सजायलाई राष्ट्रपति सी जिनपिङको शक्तिशाली भ्रष्टाचारविरुद्धको अभियानको एक हिस्साका रूपमा हेरिएको छ।
यस अभियानका समर्थकहरू यसले स्वच्छ शासनलाई प्रोत्साहन गरेको दाबी गर्छन्। तर, आलोचकहरू भने राष्ट्रपति सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पदबाट हटाउने हतियारका रूपमा यसलाई प्रयोग गरेको आरोप लगाउँछन्।