काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद आरजु राणाको भाइ भूषण राणाको जावलाखेलस्थित आवासमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार छापा मारेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणसँगै आरजु राणाको सम्पत्ति लुकाइएको हुन सक्ने आशंकामा सीआईबीको टोलीले घरमा छापा मारेको स्रोतले जनाएको छ।
ब्युरोका एक उच्च अधिकारीका अनुसार भूषण झन्डै एक महिनादेखि युरोप भ्रमणमा रहेका छन्।
भूषण विदेशमै रहे पनि आरजु राणासहितका आर्थिक गतिविधिमा उनको संलग्नता रहेको प्रारम्भिक सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेर घरभित्रका कागजात तथा अन्य महत्वपूर्ण विवरण संकलन गरेको बताइएको छ।
स्रोतका अनुसार आरजु राणाको सरकारमा प्रभाव रहँदा आन्तरिक बढुवा, ठूला आयोजनाका ठेक्का–पट्टामा भूषणले मध्यस्थकर्ताको भूमिका खेलेको जानकारी प्रहरीले प्राप्त गरेको छ।
ब्युरोको प्रारम्भिक ठम्याइ अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमार्फत संकलित रकम पनि भूषणमार्फत परिचालित भएको हुन सक्ने आशंका छ।