ट्रेन्डिङ

उपसभामुखलाई हटाउने तयारीमा गठबन्धन, विपक्ष एकजुट, कांग्रेसभित्रै किचलो

वीरगन्ज । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तारुढ गठबन्धनको तयारीले राजनीतिक परिदृश्यमा दुई भिन्न ध्रुवहरू सिर्जना गरेको छ।

एकातिर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विपक्ष दलहरूको बैठक बोलाएर साझा रणनीति बनाउन पहल गरेको छ भने अर्कोतिर कांग्रेसभित्रै उपसभामुखविरुद्धको हस्ताक्षर अभियानमा असहमति देखिएको छ।

सत्तारुढ दलहरूले उपसभामुख हटाउने प्रयास थालेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरूको सहभागिता रहेको थियो। यस कदमले उपसभामुखलाई जोगाउनका लागि विपक्षी दलहरू एकजुट हुन लागेको संकेत गरेको छ।

यसैबीच, उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन गरिरहेको कांग्रेसमा आन्तरिक विवाद देखिएको छ। पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षरका लागि सांसदहरूलाई बोलाए पनि डा. शेखर कोइराला निकट सांसदहरूले भने हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

स्रोतका अनुसार, डा. कोइरालाले आफ्ना निकट सांसदहरूलाई प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्न निर्देशन दिएका थिए। सांसद कान्छाराम तामाङले फोनबाट सोध्दा कोइरालाले ‘प्रयोजन खुल्ने भए मात्रै गर्नुस्, नत्र नगर्नुस्’ भन्ने जवाफ दिएका थिए। यसले कांग्रेसभित्रको गुटगत राजनीति यो विषयमा पनि सक्रिय भएको स्पष्ट हुन्छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच उपसभामुखलाई पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी बनेपछि दुवै पार्टीका प्रमुख सचेतकहरूले आ–आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै