वीरगन्ज । वीरगन्जबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आफ्नो ३९ औं वार्षिकोत्सव भव्य समारोहका साथ मनाउँदै यस वर्षको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरेको छ।
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले अन्नपूर्ण पोस्ट्का संवाददाता शाहलाई नगद ५१ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।
प्रतिक प्रकाशन समूहका फोटो पत्रकार सुबोध सिंहको रेल दुर्घटनामा निधन भएपछि उनको स्मृतिमा हरेक वर्ष वीरगन्जका एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ। ‘मधेस खबर’ अनलाइनका सञ्चालक एवम् प्रबन्धक रहेका साहलाई यो वर्ष सम्मान गरिएको हो।
सोही समारोहमा अन्य विभिन्न पत्रकार र कर्मचारीहरू पनि सम्मानित भएका छन्। प्रतिक प्रकाशन गृहबाट हरेक वर्ष प्रदान गरिने ‘स्तम्भकार पुरस्कार’ बाट ओमप्रकाश खनाल सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तथा आर्थिक दैनिक अभियानका मधेश प्रदेश ब्युरो प्रमुख समेत रहेका खनाललाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी पत्रकार सूर्यनारायण विकलाई स्व. चिरञ्जीवी कोइराला स्मृति पुरस्कारबाट सम्मानित गरियो। उनले नगद १५ हजार र सम्मानपत्र प्राप्त गरे। त्यसैगरी, प्रतिक दैनिकका उत्कृष्ट संवाददाताको पुरस्कार प्रमोद यादवलाई दिइएको छ। उनले नगद १५ हजार र सम्मानपत्र प्राप्त गरे। उत्कृष्ट कर्मचारीको पुरस्कार श्यामजीप्रसाद गुप्तालाई नगद ५ हजार प्रदान गरियो ।
प्रतिक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा वीरगन्ज महानगरपालिका वडा नम्बर १५, लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, ज्ञानदा एकेडेमीका सीईओ राजेन्द्र कोइराला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यलगायतको उपस्थिति रहेको थियो ।