वीरगन्ज । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा वीरगन्जस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले भव्य चैतन्य झाँकी र प्रवचन कार्यक्रम सम्पन्न गरेको छ।
ओम शान्ति भवन, छपकैयामा आयोजित यस कार्यक्रमले जन्माष्टमीको माहोललाई थप भक्तिमय र उल्लासमय बनाइदिएको थियो। कार्यक्रमको अध्यक्षता वीरगञ्जकी क्षेत्रीय सञ्चालिका बालब्रह्मचारिणी तपस्विनी रबिना दिदीले गरेकी थिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिमा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक र विशिष्ट अतिथिमा उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतम लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।
यस अवसरमा बालबालिकाले कृष्ण र राधाको रूप धारण गरी आकर्षक झाँकी प्रस्तुत गरेका थिए। विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रममा थप रङ भरेका थिए।
ब्रह्माकुमारीका गोकुल भाईजीले आफ्नो प्रवचनमा भगवान् कृष्णको आदर्श जीवन, कर्मयोग र उपदेशबारे प्रकाश पार्दै आजको युगमा पनि हामीले सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवन जिउनु आवश्यक रहेको बताए । कार्यक्रमले धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक चेतनालाई एकै ठाउँमा ल्याएको र यसले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको सहभागीहरूले बताएका छन्।