सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–११, नयाँटोलमा ठूलो मात्रामा गाँजा बरामद भएको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बिहुल खोला नजिकैको एक बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा फेला पारेको हो।
विशेष सूचनाका आधारमा साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको टोलीले उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा राखिएको पाँचवटा पोकाभित्र उक्त गाँजा भेटिएको हो।
बरामद गरिएको गाँजालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।