वीरगन्ज । पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिले प्रहरीसामु आफ्नो कदमको पछाडिको कारण स्पष्ट पारेका छन्। उ
नीहरूले भगवान शिवको पूजाका लागि मात्र एक मुठी खरानी लिएको र त्यसलाई ग्रहदशा शान्त पार्ने उद्देश्यले शिवलिंगमा चढाएको बयान दिएका छन्। पक्राउ पर्नेमा कपनका रामनन्दन ठाकुर र गौरीघाटका मिश्रीलाल यादव रहेका छन्।
उनीहरू पेशाले हजाम हुन् र कपनको फैकामा सैलुन चलाउँछन्। उनीहरूले प्रहरीलाई दिएको बयानअनुसार, पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका बेला एक साधुले जलिरहेको मानिसको खरानी शिवलिंगमा चढाएमा ग्रहदशा शान्त हुने सुझाव दिएका थिए।
सोही सुझावअनुसार, उनीहरूले आर्यघाटमा घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी विनायक मैनालीसँग सम्पर्क गरे। ५०० रुपैयाँ दिएर एक मुठी खरानी लिएको र त्यसलाई तत्कालै पशुपति परिसरको शिवलिंगमा चढाएको उनीहरूले बताएका छन्।
गत शुक्रबार राम शाहीको जलिरहेको शवबाट खरानी र मासुको टुक्रा चोरी गरेको आरोपमा प्रहरीले घाटे ब्राह्मण ढकाल र मैनालीलाई पक्राउ गरेको थियो। उनीहरूको बयानपछि ठाकुर र यादवलाई पनि पक्राउ गरिएको थियो।
चारै जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा मा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरीका अनुसार, शवको मासु र हड्डीजस्ता अंग लगेको पुष्टि नभएकोले थप गम्भीर अभियोग आकर्षित भएको छैन। उनीहरूलाई छिट्टै जिल्ला प्रशासन कार्यालयमा पेस गरिने भएको छ।