काठमाडौँ । नेपालमा मनसुन सक्रिय भएसँगै लगातार वर्षा भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा तराई नजिकै रहेकाले देशका अधिकांश भू-भागमा अझै केही दिन वर्षा जारी रहने मौसमविद्हरू बताउँछन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी र मधेस प्रदेशका केही स्थानमा र अन्य प्रदेशका धेरै क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बागमती तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ ।
त्यस्तै आज राति देशभर आकाश बदली रहनेछ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने देखिएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
निरन्तरको वर्षाले नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले महाशाखाले पहाडी तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
साथै पहिरो र डुबानको जोखिम रहेको स्थानमा अनावश्यक आवागमन नगर्नु अपिल गरिएको छ ।