वीरगन्ज । नेपाल विद्युत प्राधिकरणमा पछिल्लो समय विद्युत चुहावट बढेको तथ्याङ्कले देखाएको छ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१र८२ मा देशभर औसत विद्युत चुहावट १.१७ प्रतिशत विन्दुले बढेर १०.७६ प्रतिशत पुगेको छ। यसको अर्थ, प्राधिकरणले १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत प्राप्त गरेकोमा १ अर्ब ३६ करोड १४ लाख युनिट विद्युत चुहावट भएको छ ।
मधेश प्रदेशमा विद्युत चुहावट दर अझै पनि उच्च रहे पनि नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकले केही सुधारको संकेत देखाएको छ। देशभर चुहावट बढेको अवस्थामा, मधेश प्रदेशमा भने सामान्य सुधार आएको छ।
आर्थिक वर्ष २०८०/८१ मा १५.२९ प्रतिशत रहेको चुहावट दर २०८१/८२ मा घटेर १५.१५ प्रतिशत कायम भएको छ। यो ०.१४ प्रतिशत विन्दुको सुधार हो। यद्यपि, यो दर देशभरका अन्य प्रदेशको तुलनामा अझै पनि धेरै छ।
प्राधिकरणले मधेश प्रदेशमा २ अर्ब ८२ करोड युनिट विद्युत प्राप्त गरेकोमा त्यसमध्ये ४२ करोड ८४ लाख युनिट विद्युत चुहावट भएको छ। यो भनेको प्राप्त भएको कूल विद्युतको १५.१५ प्रतिशत हो। यसले मधेश प्रदेशमा विद्युत चुहावट अझै पनि गम्भीर समस्याको रुपमा रहेको देखाउँछ।
चुहावटका प्रमुख कारणहरूमा विद्युत चोरी, मिटरिङमा समस्या र बिलिङ तथा तथ्याङ्क व्यवस्थापनमा कमजोरी जस्ता गैर–प्राविधिक पक्षहरू जिम्मेवार रहेको मानिन्छ। प्राधिकरणका लागि मधेश प्रदेशमा चुहावट नियन्त्रण गर्नु अहिले पनि ठूलो चुनौती बनेको छ।
हालैका दिनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यको कार्यकालमा यो तथ्यांक सार्वजनिक भएको हो। यद्यपि, प्राधिकरणका प्रवक्ता राजन ढकालले यो तथ्यांक आधिकारिक नभएको र केही दिनमै अन्तिम तथ्यांक सार्वजनिक गरिने बताएका छन्।