सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ स्थित झल्हीमा एक १५ वर्षीया दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ।
बुधबार साँझ घरअगाडि उभिरहेकी बालिकालाई चार जनाको समूहमा आएका युवाहरूले जबरजस्ती उठाएर लगेका थिए। बालिकालाई घरबाट लगिएको खबर पाएलगत्तै परिवार र छिमेकीले खोजी सुरु गरेका थिए। भोलिपल्ट बिहान खोज्ने क्रममा १९ वर्षीय राजु यादवलाई देखेपछि आक्रोशित परिवारले उनलाई समातेर सोधपुछ गर्दा घटनाबारे खुलेको थियो। त्यसपछि बालिकालाई लुकाएर राखिएको घरबाट सकुशल उद्धार गरिएको पीडित परिवारले जनाएको छ।
बालिकाका दाजुका अनुसार, राजु यादव र १८ वर्षीय विवेक यादवले सामूहिक बलात्कार गरेका हुन्। अन्य दुई जनाले पनि घटनामा सहयोग गरेको बालिकाले बताएकी छन्। प्रहरीले राजु यादवलाई पक्राउ गरेको छ। पीडित परिवारले घटनाको न्याय खोजिरहेका बेला वडाध्यक्षसमेतले दबाब दिएर मिलापत्र गर्न खोजेको आरोप लगाएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।