ट्रेन्डिङ

नेपाल गरिब होइन, सरकार गरिब छ : शंकर पोखरेल

वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चामा रहेजस्तो गरिब नभएको दाबी गरेका छन्।

नवयुग उद्यमशालामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनौपचारिक अर्थतन्त्रको सही गणना नभएकाले नेपालका नागरिक गरिब देखिएको बताए।

पोखरेलले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन्, तर बाहिर गएर विदेशीहरूभन्दा ज्यादा खर्च गर्छन्। यसको अर्थ नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन्।’ उनले अनौपचारिक अर्थतन्त्रको गणना गर्ने हो भने नेपालको वास्तविक आर्थिक अवस्था फरक देखिने उल्लेख गरे।

उनका अनुसार, राष्ट्र बैंकले प्रकाशन गर्ने सबै तथ्याङ्कहरू सकारात्मक छन्, तर पनि राज्य घाटामा छ र लगानी वृद्धि हुन सकेको छैन। ‘बैंकहरूमा पैसा थुप्रिएको छ, तर लगानी हुन सकेको छैन। तरलता नियन्त्रण गर्न राज्यले राष्ट्र बैंकमार्फत लगानी गर्नुपरेको छ,’ उनले भने। उनले विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने राज्य सन्तुलन कायम गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरे।

पोखरेलले नेपालको अर्थतन्त्र प्रगतिमा रहे पनि राज्य अझै बलियो हुन नसकेको बताए। उनले भने, ‘लोकतन्त्रमा राज्य बलियो भएन भने नागरिकहरू बलियो हुन सक्दैनन्।’ उनले कर तिर्नबाट पन्छिने नेपालीहरूको मानसिकतामाथि प्रश्न उठाउँदै अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने प्रवृत्ति गलत भएको बताए।

साथै, उनले नेपालमा औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली रहेको र राज्यको नीति तथा कानुनले पनि यसलाई प्रवर्द्धन गरिरहेको आरोप लगाए। पोखरेलका अनुसार, राष्ट्र बैंक र अर्थ मन्त्रालयले प्रभावकारी ढंगले काम गर्न चुकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै