वीरगन्ज । नेपाल आयाल निगमले अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको निर्माण कार्य सुरु गरेको छ।
चितवनको राप्ती–१, लोत्थरमा एक कार्यक्रमबीच आज आयोजना कार्यालयको उद्घाटन गरी काम अघि बढाइएको हो।
नेपाल आयल निगमका उपनिर्देशक तथा आयोजना प्रमुख प्रदीपकुमार यादवले यस परियोजनाले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइपलाइन बिछ्याउने काम गर्ने जानकारी दिए। उनले हाल सञ्चालनमा रहेको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनलाई विस्तार गरेर यसलाई लोत्थरसम्म पुर्याइने बताए।
यो परियोजना ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि यसलाई तीन वर्षभित्रै सक्ने प्रयास गरिने यादवले जानकारी दिए। उनले यसअघि मोतीहारी–अमलेखगञ्ज पाइपलाइन १५ महिनामै सम्पन्न गरिएको उदाहरण दिँदै यो काम पनि छिट्टै सकिने विश्वास व्यक्त गरे।