वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको पर्साको ठोरी भ्रमण स्थगित भएको छ ।
मधेश प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य मानिने ठोरी गाउँपालिकाको भ्रमण तथा निर्मलबस्ती खानेपानी आयोजनाको उद्घाटनका लागि यही साउन ९ गते आउने तय भएको प्रधानमन्त्रीको कार्यक्रम राजनीतिक व्यस्तताका कारण र हाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडिएका बहसका कारण रोकिएको हो ।
निर्मलबस्ती खानेपानी आयोजनाको उद्घाटनपश्चात् ठोरी–२ को राइधारा परिसरमा प्रधानमन्त्री ओलीको भव्य स्वागत समारोहको तयारीमा जुटेका स्थानीय बासिन्दा उनको भ्रमण स्थगन भएपछि निराश बनेका छन् । प्रधानमन्त्रीको आगमनलाई लिएर ठोरीमा तीव्र तयारी गरिएको थियो ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबाहादुर श्रेष्ठले सोमबार राति प्रधानमन्त्रीको भ्रमण स्थगित भएको ‘कन्फर्म’ भएको जानकारी दिए । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीको आन्तरिक बैठक तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि सिर्जित परिस्थितिबारे चलिरहेका बहसका कारण आउन सक्ने अवस्था नरहेको एमालेका एक नेताले बताए ।